दैलेख : पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग फैलिएको छ । ११ स्थानीय तह ९० वडा रहेको दैलेखमा पशुमा लाग्ने लम्पी स्किन’ रोग फैलिएको हो । पशुमा ‘लम्पी स्किन’ रोग देखिन थालेको भए पनि औषधिका लागि प्रभावकारी पहल नभएको कृषकले बताएका छन् ।
‘लम्पी स्किन’ सरुवा रोग भएकाले दैनिक पशु चौपायामा अधिक मात्रामा सर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीम बहादुर विष्टले बताए । एक पशुबाट अर्को पशुमा विभिन्न माध्यमबाट लम्पी सर्दा किसानहरूलाई समस्या भएको छ ।
दैलेखका ११ वटै स्थानीय तहमा ‘लम्पी स्किन’ रोग फैलिएको कार्यालय प्रमुख विष्टले बताए । उनले ‘लम्पी स्किन’ रोगबाट पशुलाई बचाउन रोग देखिएको पशुलाई अन्य रोग नदेखिएका पशुबाट टाढा राख्नुपर्ने बताए । हालसम्म दैलेखमा ‘लम्पी स्किन’ रोगका कारण पशुको मृत्यु भएको खबर भने नआएको विष्टले बताए ।
उनले रोग फैलन नदिनका लागि स्थानीय सरकारसँग समन्वय गरेर रोकथामका लागि प्रभावकारी काम भइरहेको बताए । ‘लम्पी स्किन’ रोग लाग्ने पशुले बित्तिकै ९० प्रतिशत दूध घट्ने, गर्भवती पशु तुहिने लगायतका समस्या देखा पर्ने पशु स्वास्थ्य कर्मीले बताएका छन् ।
पशुमा लम्पी स्किन देखिएपछि ज्वरो आउने, काँप्ने, खान छोड्ने, आँसु झार्ने, सिँगान र ¥याल निकाल्ने, शरीरमा गिर्खा आउने, शरीरको तल्लो भाग सुन्निने लगायतका लक्षण देखिन्छ । सरुवा रोग भएकाले आहार, सिधा सम्पर्कबाट, बिरामीमा लगाएको सुई अर्कोमा लगाएमा रोग सर्ने गरेको बताइएको छ ।
कर्णालीका केही जिल्लाहरूका पशुमा ‘लम्पी स्किन’ रोग फैलन थाले पछि प्रदेश स्तरको विज्ञ टोली फिल्डमा रहेर अध्ययन् गर्दै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । मन्त्रालयको पहलमा भ्याक्सिन ल्याउने पहल भइरहेको जनाइएको छ ।






